दफा ८७ : सञ्चालकहरूको नियुक्ति
(१) कम्पनीको सञ्चालकहरूको नियुक्ति दफा ८९ तथा नियमावलीमा लेखिएका व्यवस्थाहरूको अधीनमा रही कम्पनीको साधारण सभाद्वारा गरिनेछ ।

तर,

    (१) कम्पनीको प्रथम वार्षिक साधारण सभा नभएसम्म सञ्चालकहरूको नियुक्ति संस्थापकहरुद्वारा गरिनेछ ।

    (२) वार्षिक साधारण सभाद्वारा नियुक्त गरिएको सञ्चालकको पद कुनै व्यहोराले रिक्त भएमा सो रिक्त स्थानमा सञ्चालक समितिले अर्को सञ्चालक नियुक्त गर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संगठित संस्थाले शेयर लिएको कम्पनीको हकमा कम्पनीका सञ्चालकहरुको जम्मा संख्या र सो संस्थाले ग्रहण गरेको शेयर संख्याको अनुपातमा हुन आउने सञ्चालक र त्यस्तो सञ्चालक कुनै व्यहोराले समितिको बैठकमा भाग लिन नसक्ने अवस्था उत्पन्न भएको अवस्थामा त्यस्तो प्रत्येक सञ्चालकको सट्टामा समितिको बैठकमा उपस्थित हुन र मतदान गर्न वैकल्पिक सञ्चालकसमेत त्यस्तो संस्थाले नियुक्त गर्न सक्नेछ ।

(३) उपदफा (२) अनुसार नियुक्त कुनै सञ्चालक कम्पनीको सञ्चालक समितिको बैठकमा उपस्थित हुन नसक्ने भएमा त्यस्तो सञ्चालकले सो कुराको जानकारी निजको वैकल्पिक सञ्चालक तथा सञ्चालक समितिलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्तो अवस्थामा वैकल्पिक सञ्चालकले समितिको बैठकमा भाग लिन र मतदान गर्न पाउनेछ ।

(४) उपदफा (२) बमोजिम नियुक्त बैकल्पिक सञ्चालकले उपदफा (३) को अवस्थामा बाहेक सञ्चालक समितिको बैठकमा भाग लिन र मतदान गर्न सक्ने छैन ।