दफा १८२ : लाभांश
(१) देहायका अवस्थामा बाहेक लाभांश दिने निर्णय भएको पैंतालीस दिनभित्र शेयरधनीहरूलाई लाभांश वितरण गरी सक्नु पर्नेछ ः–

(क) कुनै कानूनले लाभांश वितरण गर्नबाट रोक लगाएको भएमा,

(ख) लाभांश पाउने अधिकार विवादित भएमा,

(ग) कम्पनीको काबुबाहिरको परिस्थितिमा वा कुनै कारणवश सो म्यादभित्र लाभांश वितरण गर्न नसकिने भएमा ।

(२) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले नेपाल सरकारको पूर्वस्वीकृति लिएर मात्र लाभांश वितरण गर्न सक्नेछ र त्यस्तो कम्पनीले वितरण गर्ने लाभांशसम्बन्धी विषयमा नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्नेछ ।

(३) उपदफा (१) को म्यादभित्र लाभांश वितरण नगरेमा तोकिएबमोजिमको ब्याज थप गरी लाभांश वितरण गर्नु पर्नेछ ।

(४) लाभांश घोषणा गर्दा जसको नाम शेयरधनीको दर्ताकिताबमा कायम छ सोही व्यक्ति वा त्यस्तो व्यक्तिको कानून बमोजिमको हकवाला त्यस्तो लाभांशको हकदार हुनेछ ।

(५) लाभांश वितरण गर्नको लागि छुट्याइएको मुनाफाको रकमबाट बाहेक अन्य कुनै किसिमबाट कम्पनीले लाभांशको भुक्तानी वा वितरण गर्न सक्ने छैन ।

(६) कम्पनीले कुनै आर्थिक वर्षमा भएको मुनाफाको रकमबाट लाभांशको भुक्तानी वा वितरण गर्नुभन्दा पहिले पूर्व सञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामान अनुसार ह्रासकट्टी गर्नु पर्ने रकम, प्रचलित कानूनबमोजिम मुनाफाबाट भुक्तानी गर्नु पर्ने वा छुट्याउनु पर्ने रकम वा विगतका आर्थिक वर्षहरूमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरुपमा कट्टा गरिसकेको हुनु पर्नेछ ।

तर लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नु पर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवस्था पालना गर्नु पर्ने कम्पनीले त्यस्तो जगेडा वा सञ्चित कोष खडा नगरी लाभांश वितरण गर्न सक्ने छैन ।

(७) यस दफामा गरिएको विभिन्न व्यवस्थाको अधीनमा रही कुनै कम्पनीको सञ्चालक समितिले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट देहायको अवस्थामा अन्तरिम लाभांश वितरण गर्न सक्नेछ ः–

(क) अन्तरिम लाभांश वितरण गर्ने विषयमा नियमावलीमा व्यवस्था गरिएको भए,

(ख) जुन आर्थिक वर्षको मुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने हो सो आर्थिक वर्षको वार्षिक आर्थिक विवरण लेखापरीक्षकबाट प्रमाणित भई सञ्चालक समितिबाट स्वीकृत भइसकेको भए ।

(८) साधारण सभाबाट स्वीकृत लाभांशबाहेक कम्पनीले आफ्नो कोषमा व्ययभार पर्ने गरी शेयरधनीहरुलाई नगद वा जिन्सीको रुपमा कुनै पनि रकम भुक्तानी गर्न वा वितरण गर्न सक्ने छैन ।

(९) लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि कुनै शेयरधनीले बुझि नलिएको लाभांशको रकम दफा १८३ बमोजिम स्थापना हुने लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्नेछ ।

(१०) कुनै कम्पनीले उपदफा (९) बमोजिमको रकम दफा १८३ बमोजिमको कोषमा जम्मा गर्दा सो उपदफामा उल्लिखित अवधि समाप्त हुनुभन्दा अगाडि कम्तीमा एक महिनाको म्याद दिई लाभांश बुझिलिन आउन राष्ट्रियस्तरको दैनिकपत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।

(११) यस ऐन अनुसार शेयरधनीहरुलाई बाँडिने लाभांशको रकम साधारण सभाबाट स्वीकृत भएको मितिले पैंतालीस दिनभित्र कम्पनीले छुट्टै खातामा जम्मा गरी सोही खाताबाट लाभांशको रकम भुक्तानी गर्नु पर्नेछ र त्यस्तो रकम कम्पनीले अन्य कामको लागि प्रयोग गर्न पाउने छैन ।