दफा ९९ : सञ्चालकहरूको जवाफदेही तथा दायित्व
(१) कम्पनीको सञ्चालकले कम्पनीमार्पmत वा कम्पनीको कामको सिलसिलामा व्यक्तिगत फाइदा लिने काम गर्न पाउने छैन ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी कम्पनीको कारोबारको सिलसिलामा कुनै सञ्चालकले व्यक्तिगत फाइदा लिएको भएमा सो रकम कम्पनीले त्यस्तो सञ्चालकबाट ऋणसरह भराई लिनेछ ।

(३) कुनै व्यक्ति पब्लिक कम्पनीको सञ्चालक नियुक्त भएपछि निजले आफ्नो कार्यभार सम्हाल्नुभन्दा पहिले नै तोकिएबमोजिमको ढाँचामा गोप्यता र इमान्दारिताको शपथ लिनु पर्नेछ ।

(४) कम्पनीका प्रत्येक सञ्चालक तथा पदाधिकारीले आफ्नो पदीय दायित्व निर्वाह गर्दा कम्पनीको स्वार्थ र हितलाई ध्यानमा राखी इमान्दारीपूर्वक असल नियतले काम गर्नु पर्नेछ र सामान्य विवेक र ज्ञान भएको व्यक्तिसरह हिफाजती, सावधानी, बुद्धिमत्ता, कुशलता तथा दक्षताको प्रयोग गर्नु पर्नेछ ।

(५) उपदफा (४) को प्रतिकूल हुने गरी बदनियत चिताई कम्पनीलाई हानि नोक्सानी पुग्ने किसिमबाट काम कारबाही गर्ने सञ्चालकबाट कम्पनीलाई हुन गएको हानि नोक्सानीको क्षतिपूर्ति कम्पनीले असूलउपर गरी लिन सक्नेछ ।

(६) यस ऐन, कम्पनीको प्रबन्धपत्र, नियमावली र सर्वसम्मत सम्झौताको व्यवस्था पालना गर्नु प्रत्येक सञ्चालकको कर्तव्य हुनेछ ।