दफा १२७ : लिक्वीडेटर तथा लेखापरीक्षकको नियुक्ति
(१) दफा १२६ बमोजिम कम्पनी खारेज गर्ने प्रस्ताव पारित गर्दा खारेजीसम्बन्धी काम कारबाही सम्पन्न गर्न एकजना लिक्वीडेटरको नियुक्ति गरी त्यस्तो लिक्वीडेटरले प्राप्त गर्ने पारिश्रमिक तोक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम लिक्वीडेटर नियुक्त गर्दा दामासाहीसम्बन्धी प्रचलित कानून अन्तर्गत इजाजतपत्र प्राप्त गरेको व्यवसायीलाई गर्नु पर्नेछ ।

(३) कम्पनीले उपदफा (२) बमोजिम लिक्वीडेटर नियुक्त गरेको मितिले सात दिनभित्र सोको सूचना कार्यालयलाई दिनु पर्नेछ ।

(४) उपदफा (२) बमोजिम लिक्वीडेटर नियुक्त भएपछि कम्पनीका सञ्चालक तथा पदाधिकारीहरु आफ्नो पदबाट मुक्त हुनेछन् र कम्पनीको सञ्चालन र व्यवस्थापनसम्बन्धी कम्पनीका सञ्चालक तथा पदाधिकारीले प्रयोग गर्ने सम्पूर्ण अधिकार लिक्वीडेटरले प्रयोग गर्नेछ ।

(५) उपदफा (४) बमोजिम लिक्वीडेटरले कम्पनी सञ्चालन र व्यवस्थापन गर्न प्रारम्भ गरे पछि त्यस्तो कम्पनीका कर्मचारीहरुको सेवा स्वतः समाप्त हुनेछ ।

तर लिक्वीडेटरले आफ्नो सहयोग र सहायताका लागि आवश्यक कर्मचारी कायम राख्न वा नियुक्त गर्न सक्नेछ ।

(६) यस दफाबमोजिम नियुक्त लिक्वीडेटरले नियुक्ति गर्दाका बखत तोकेको समयावधिभित्र कम्पनी खारेज गर्ने काम पूरा गर्नु पर्नेछ ।

तर निर्धारित समयावधिभित्र कारणबश खारेज गर्ने काम सम्पन्न हुन नसकेमा नियुक्ति गर्दाको प्रक्रिया अवलम्बन गरी मनासिब म्याद थप गर्न सकिनेछ ।

(७) उपदफा (१) बमोजिम लिक्वीडेटर नियुक्त गर्दा यस ऐनमा गरिएको व्यवस्थाको अधीनमा रही एक लेखापरीक्षक पनि नियुक्त गर्नु पर्नेछ ।

(८) यस ऐन बमोजिम नियुक्त भएको लिक्विडेटरले दामासाही व्यवसायीको आचारसंहिता, कम्पनीको हित वा अन्य प्रचलित कानून विपरीत काम गरेमा जुन प्रक्रियाबाट लिक्विडेटर नियुक्त भएको हो सोही प्रक्रियाबाट निजलाई हटाउनु पर्नेछ ।

तर,

(१) दामासाही व्यवसायीको आचारसंहिता उल्लंघन गरेकोमा त्यस्तो संहिता लागू गर्ने निकायको स्वीकृति लिनु पर्नेछ ।

(२) त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।

(९) यस ऐन बमोजिम नियुक्त भएको लिक्विडेटर कुनै कारणवश सो पदमा कायम नरहेमा जुन प्रक्रियाबाट लिक्विडेटर नियुक्त भएको हो सोही प्रक्रियाबाट अर्को लिक्विडेटर नियुक्त गर्नु पर्नेछ ।

(१०) कुनैे व्यक्ति एकै समयमा एक भन्दा बढी कम्पनीको लिक्विडेटर हुन सक्ने छैन ।