दफा १३६क : कम्पनीको दर्ता खारेज सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कारोबार सञ्चालन नगरेको वा सञ्चालनमा नरहेको, दफा ८० बमोजिम विवरण पेश नगरेको वा दफा ८१ बमोजिम लागेको जरिबाना नबुझाएको कम्पनीले यो दफा प्रारम्भ भएको मितिले दुई वर्षभित्र दर्ता खारेज गर्न चाहेमा त्यस्तो कम्पनीको साधारण सभाबाट निर्णय गरी कार्यालय समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनसाथ दफा ८० बमोजिमको विवरण सहित दफा ८१ बमोजिम लाग्ने जरिबाना रकम वा कम्पनीको चुक्ता पुँजीको शुन्य दशमलव पाँच प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुन्छ सो रकम समेत संलग्न गरी बुझाउनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम निवेदन परेमा कार्यालयले दफा १३६ बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो कम्पनीको दर्ता खारेज गर्न सक्नेछ ।

(४) यस दफा बमोजिम कम्पनी खारेज भएमा त्यस्तो कम्पनीको दायित्व सम्बन्धी व्यवस्था दफा १३६ बमोजिम हुनेछ ।