दफा १२१ : कार्यालयले निरीक्षक खटाउन सक्ने
(१) कुनै कम्पनीले यस ऐन, प्रबन्धपत्र, नियमावली, विवरणपत्र, सर्वसम्मत सम्झौता वा प्रचलित कानूनविपरीत काम गरेको छ भनी कम्पनीको चुक्ता पूँजीको कम्तीमा दश प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने वा शेयरधनीको जम्मा संख्याको कम्तीमा चार खण्डको एक खण्ड शेयरधनीहरू वा सरोकारवाला साहूले मनासिब कारण देखाई सबुद प्रमाणसहित निवेदन दिएमा कार्यालयले आवश्यकता अनुसार एक वा एकभन्दा बढी निरीक्षक खटाई पठाउन सक्नेछ । त्यस्तो निरीक्षक लेखा, कानून, वित्त, व्यवस्थापन, वाणिज्य, उद्योग वा कम्पनी प्रशासन वा कम्पनीले गर्ने व्यवसायसँग सम्बन्धित विषयमध्ये कुनै एक विषयको विशेषज्ञ हुन पर्नेछ । त्यस्तो कार्यका लागि लाग्ने अनुमानित खर्चको रकम कार्यालयले तोकेबमोजिम निवेदकले कार्यालयमा जम्मा गर्नु पर्नेछ ।

तर त्यस्तो विशेषज्ञ सम्बन्धित कम्पनीको काम कारोबारमा निजी स्वार्थ वा सरोकार नभएको व्यक्ति हुनुपर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयलाई देहायको अवस्था छ भन्ने लागेमा उपदफा (१) बमोजिम निवेदन नपरे तापनि कार्यालयले आवश्यकता अनुसार उपदफा (१) बमोजिम योग्यता पुगेको निरीक्षक नियुक्त गरी कम्पनीको कारोबार वा व्यवसाय जँचाउन सक्नेछ ः–

(क) कुनै कम्पनीको कारोबार वा व्यवसायमा कम्पनीका शेयरधनी वा साहूहरूलाई ठगेको वा अरु किसिमले जालसाज गरेको वा गैर कानूनी मतलब हासिल गरेको वा सार्वजनिक हितविपरीतका कार्यहरू गरेको जानकारी भएमा, वा

(ख) कुनै पब्लिक कम्पनीले आफ्नो काम कारोबार बारे दिनु पर्ने सूचना नदिएमा ।