दफा १९ : प्रबन्धपत्रमा सहीछाप गर्नु पर्ने
(१) प्रबन्धपत्रमा कम्पनीको संस्थापकहरूको पूरा नाम र ठेगाना उल्लेख गरी प्रत्येक संस्थापकले के कति शेयर लिन मञ्जुर गरेको हो सोसमेत देखाइएको र निजहरू सबैको सहीछाप परेको हुनु पर्नेछ ।

(२) प्रत्येक संस्थापकको लागि छुट्टाछुट्टै साक्षीको नाम र ठेगाना प्रष्टसँग खुलेको हुनु पर्नेछ र त्यस्तो साक्षीको सहीछापसमेत प्रबन्धपत्रमा परेको हुनु पर्नेछ ।

(३) प्रत्येक संस्थापकले सो कम्पनीको नियमावलीमा तोकिएबमोजिम र त्यसरी नतोकिएकोमा कम्तीमा एक सय कित्ता शेयर खरिद गर्न मञ्जुर गरेको हुनु पर्नेछ ।

(४) कम्पनी संस्थापना भएको एक वर्षभित्र कम्पनीको सञ्चालक समितिको निर्णयले दफा ४ बमोजिम दिइएको निवेदनसाथ पेश गरिएको प्रबन्धपत्र तथा नियमावलीमा देखिएका सामान्य त्रुटी वा छपाई वा टाइपको गल्तीलाई सच्याई पाउन कार्यालयसमक्ष निवेदन दिन सकिनेछ ।

(५) उपदफा (४) बमोजिम निवेदन पर्न आएमा त्यसउपर छानबिन गरी उपयुक्त देखेमा कार्यालयले त्यस्तो त्रुटी वा गल्तीलाई सच्याई सोको अभिलेख राख्नेछ । तर कम्पनीको मूल उद्देश्यमा फरक पर्ने गरी कुनै कुरा सच्याउन सकिने छैन ।