दफा १५४ : विदेशी कम्पनीको दर्ता
(१) विदेशी कम्पनीले यस दफाबमोजिम कार्यालयमा त्यस्तो कम्पनीको शाखा कार्यालय दर्ता नगराई नेपाल राज्यभित्र कुनै व्यवसाय वा कारोबार सञ्चालन गर्न वा सम्पर्क कार्यालय दर्ता नगराई त्यस्तो कार्यालय स्थापना गर्न सक्ने छैन ।

तर अधिकार प्राप्त निकायको स्वीकृति लिई कानूनबमोजिम स्थापना भएको कुनै कम्पनीको शेयरमा लगानी गर्ने, त्यस्तो कम्पनीलाई ऋण दिने वा त्यस्ता कम्पनीको सञ्चालन वा व्यवस्थापनमा भाग लिने कामलाई यस परिच्छेदको प्रयोजनका लागि व्यवसाय वा कारोबार गरेको मानिने छैन ।

स्पष्टीकरण ः कुनै विदेशी कम्पनीले नेपालमा स्थापना गरिएको वा सोको लागि प्रयोग गरिएको कार्यालय वा स्थानबाट एक महिना वा सोभन्दा बढी अवधिसम्म नियमित रुपमा कुनै कारोबार सञ्चालन गरेमा वा नियमित संम्पर्कका लागि कुनै व्यक्तिलाई नियुक्त गरेमा वा निजको सेवा लिएमा यस परिच्छेदको प्रयोजनको लागि त्यस्तो कम्पनीले नेपालमा कारोबार सञ्चालन गरेको वा कार्यालय स्थापना गरेको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम शाखा कार्यालय दर्ता गर्न चाहने विदेशी कम्पनीले प्रचलित कानूनबमोजिम सम्बन्धित निकायबाट प्राप्त स्वीकृतिसमेत संलग्न राखी तोकिएबमोजिमको ढाँचामा तोकिएको दस्तुरसहित कार्यालयमा त्यस्तो कम्पनी दर्ताको लागि निवेदन दिनु पर्नेछ ।

(३)ं उपदफा (१) बमोजिम सम्पर्क कार्यालय दर्ता गर्न चाहने विदेशी कम्पनीले त्यस्तो कार्यालय दर्ता गर्नको लागि प्रचलित कानूनबमोजिम कुनै निकायको स्वीकृति आवश्यक पर्ने भए त्यस्तो स्वीकृतिसमेत संलग्न गरी तोकिएबमोजिमको ढाँचामा तोकिएबमोजिमको दस्तुरसहित कार्यालयमा त्यस्तो कम्पनी दर्ताको लागि निवेदन दिनु पर्नेछ ।

स्पष्टीकरण ः नेपालभित्र कुनै काम गर्नका लागि कुनै विदेशी कम्पनी प्रचलित कानूनबमोजिम अधिकार प्राप्त कुनै निकायबाट छनौट भएमा वा अधिकार प्राप्त कुनै निकायसँग करार गरेमा उपदफा (१) र (२) को प्रयोजनको लागि त्यसरी छनौट भएको वा करार गरेको कुरालाई नै सम्बन्धित निकायबाट स्वीकृति दिइएको मानिनेछ ।

(४) उपदफा (२) वा (३) बमोजिम विदेशी कम्पनी दर्ताको लागि निवेदन प्राप्त हुन आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो विदेशी कम्पनीलाई नेपाल राज्यभित्र व्यवसाय वा कारोबार सञ्चालन गर्न वा सम्पर्क कार्यालय खडा गर्न निवेदन दिएको तीस दिनभित्र दर्ता गरी तोकिएबमोजिम दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । (५) उपदफा (२) वा (३) बमोजिम दिएको निवेदनबमोजिम विदेशी कम्पनी दर्ता हुन नसक्ने भएमा कार्यालयले सोको कारण खुलाई तीस दिनभित्र सम्बन्धित निवेदकलाई जानकारी दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम दर्ता भएको विदेशी कम्पनीले नेपाल राज्यभित्र आफ्नो शाखा कार्यालय खोली सम्बन्धित व्यवसाय वा कारोबार सञ्चालन गर्न वा सम्पर्क कार्यालय खोल्न सक्नेछ ।

तर सम्पर्क कार्यालयको रुपमा दर्ता भएको विदेशी कम्पनीले नेपाल राज्यभित्र आय आर्जन हुने कुनै कार्य गर्न सक्ने छैन ।

(६) उपदफा (२) वा (३) बमोजिम निवेदन दिने विदेशी कम्पनीको नाम वा त्यस्तो कम्पनीले कार्यान्वयन गर्ने उद्देश्य यस ऐन अनुसार दर्ता हुन नसक्ने प्रकृतिको भएमा त्यस्तो विदेशी कम्पनी नेपालमा दर्ता हुन सक्ने छैन ।

(७) उपदफा (४) बमोजिम दर्ता भएको विदेशी कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालय रहेको वा संस्थापना भएको मुलुकमा जुन प्रकारको व्यवसाय वा कारोबार गरिरहेको छ सोही प्रकृतिको व्यवसाय वा कारोबार मात्र गर्न पाउने गरी दर्ता भएको मानिनेछ ।

(८) यस दफाबमोजिम दर्ता भएको विदेशी कम्पनीले आफ्नो कारोबार रहेको ठाउँमा सबैले देख्ने गरी आफ्नो नामको बोर्ड राख्नु पर्नेछ र त्यस्तो बोर्ड तथा कम्पनीले प्रयोग गर्ने बिल, भर्पाइ, बीजक इत्यादि वा लेटरप्याडहरुमा कम्पनी स्थापना भएको मुलुकको नाम तथा नेपालमा कम्पनी दर्ता भएको दर्ता नम्बर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

(९) यस दफाबमोजिम दर्ता भएको विदेशी कम्पनीको दर्ताका लागि कार्यालयले छुट्टै दर्ताकिताब खडा गर्नु पर्नेछ र त्यस्तो दर्ताकिताब सर्वसाधारणले हेर्ने र तोकिएको दस्तुर तिरी नक्कल लिन पाइने व्यवस्था मिलाउनु पर्नेछ ।

(१०) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा अनुसार दर्ता गरिएको विदेशी कम्पनीले नेपाल राज्यभित्र शेयर वा डिबेञ्चर निष्काशन गर्न सक्ने छैन । (११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल राज्यभित्र दर्ता नगराई व्यवसाय वा कारोबार सञ्चालन गरिरहेका वा सम्पर्क कार्यालय खडा गरेका विदेशी कम्पनीले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र यस ऐनबमोजिम कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ ।