दफा ११२ : लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
(१) देहायका व्यक्ति वा त्यस्ता व्यक्ति हिस्सेदार भएको फर्म वा कम्पनी लेखापरीक्षकमा नियुक्त हुन र नियुक्त भइसकेको भए पनि बहाल रहन सक्ने छैन ः–

(क) कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीको व्यवस्थापन समूहमा रहेको व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदारमध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा निजको कर्मचारी,

(ख) कम्पनीबाट कुनै किसिमले ऋण लिएको आसामी वा कम्पनीलाई तिर्नु बुझाउनु पर्ने कुनै रकम म्यादभित्र भुक्तान नगरी बाँकी रहेको व्यक्ति वा त्यस्तो व्यक्तिको नजिकको नातेदार,

(ग) लेखापरीक्षणसम्बन्धी कसूरमा सजाय पाएको तीन वर्षको अवधि भुक्तान नभएको व्यक्ति,

(घ) साहूको दामासाहीमा परेको व्यक्ति,

(ङ) कम्पनीको आधारभूत शेयरधनी वा कम्पनीको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा निजको नजिकको नातेदार,

(च) भ्रष्टाचार, ठगी वा नैतिक पतन हुने फौजदारी कसूरमा सजाय पाएको पाँच वर्षको अवधि भुक्तान नभएको व्यक्ति,

(छ) दफा १११ को उपदफा (३) बमोजिमको व्यक्ति,

(ज) पब्लिक कम्पनीको हकमा कुनै पनि सरकारी वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण रहेको संस्था वा अन्य कुनै कम्पनीमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति वा निजको साझेदार वा त्यस्तो साझेदारको कर्मचारीको रुपमा कार्यरत व्यक्ति वा कम्पनीको व्यवस्थापनको तर्फबाट तयार हुने कुनै लिखत वा प्रतिवेदनमा हस्ताक्षर गर्न अधिकार पाएको व्यक्ति,

(झ) सीमित दायित्व भएको कम्पनी वा संगठित संस्था ।

(ञ) कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको व्यक्ति वा निजको नजिकको नातेदार वा कम्पनीसँगको कारोबारमा कुनै स्वार्थ भएको अर्को कम्पनीको सञ्चालक, पदाधिकारी वा आधारभूत शेयरधनी ।

(२) लेखापरीक्षकले आपूm नियुक्त हुनुअघि उपदफा (१) बमोजिम अयोग्य नभएको कुरा कम्पनीलाई लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।

(३) कुनै लेखापरीक्षक आफ्नो कार्यकाल समाप्त नहँुदै कुनै कम्पनीको लेखापरीक्षण गर्न अयोग्य भएमा वा कम्पनीको लेखापरीक्षक नियुक्त हुन वा कायम रहन नसक्ने स्थिति उत्पन्न भएमा निजले लेखापरीक्षण गर्नु पर्ने वा गरिरहेको काम तत्काल रोकी सो कुराको जानकारी लिखित रुपमा कम्पनीलाई दिनु पर्नेछ ।

(४) यस दफाको प्रतिकूल हुने गरी नियुक्त भएको लेखापरीक्षकले गरेको लेखापरीक्षण मान्य हुने छैन ।