दफा ९७ : सञ्चालक समितिको बैठक
(१) प्राइभेट कम्पनीको सञ्चालक समितिको बैठक नियमावलीमा लेखिएबमोजिम हुनेछ ।

(२) पब्लिक कम्पनीको सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा छपटक बस्नु पर्नेछ । तर दुई बैठकको बीचको अन्तर तीन महिनाभन्दा बढी हुने छैन ।

(३) कम्पनीको सञ्चालक समितिको बैठकमा सञ्चालकहरू स्वयं उपस्थित हुनु पर्नेछ । सञ्चालकको सट्टा सञ्चालकको प्रतिनिधिको उपस्थिति मान्य हुने छैन ।

(४) कम्पनीको सञ्चालकहरुको जम्मा संख्याको कम्तीमा एकाउन्न प्रतिशत सञ्चालकहरू उपस्थित नभई सञ्चालक समितिको कुनै बैठक हुने छैन । तर यस ऐनबमोजिम सञ्चालक समितिको बैठकमा छलफल हुने कुनै विषयमा छलफल गर्न नपाउने सञ्चालकलाई यस उपदफाको प्रयोजनको लागि गणना गरिने छैन ।

(५) उपदफा (४) मा उल्लिखित संख्यामा सञ्चालकहरु उपस्थित नभएको कारणबाट सञ्चालक समितिको बैठक सम्पन्न हुन नसकेमा कम्तीमा तीन दिनको सूचना दिई अर्को बैठक बोलाउन सकिनेछ । त्यस्तो बैठकमा पनि उपदफा (४) मा उल्लिखित संख्यामा सञ्चालकहरु उपस्थित नभएमा उपस्थित सञ्चालकहरुले गरेको काम कारबाही तथा निर्णय मान्य हुनेछ ।

(६) सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले सञ्चालकको हैसियतले दिएको मतको अतिरिक्त निर्णायक मतसमेत दिन सक्नेछ । तर सञ्चालक समितिको बैठकमा आफ्नो निजी सरोकार वा स्वार्थ भएको विषयमा हुने छलफलमा कुनै सञ्चालकले भाग लिन वा मतदान गर्न पाउने छैन ।

(७) सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राख्नु पर्नेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकहरूको कम्तीमा एकाउन्न प्रतिशतले सही गर्नु पर्नेछ । तर कुनै विषयमा छलफल गर्दा कुनै सदस्यले निर्णयको विपरीत वा त्यस्तो निर्णयभन्दा भिन्न विचार राखेमा सोही कुरा बैठकको निर्णयको विवरण (माइन्यूट) मा अभिलेख गर्न सक्नेछ ।

(८) कुनै सदस्यको सही नभएको कारणले मात्र सो निर्णय अवैध भएको मानिने छैन ।

(९) उपदफा (३), (४), (५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रबन्धपत्र वा नियमावलीले स्पष्ट रोक लगाएकोमा बाहेक सञ्चालक समिति वा सञ्चालकहरूको कुनै उपसमितिले गर्न पाउने कुनै काम वा निर्णयको सम्बन्धमा सञ्चालक समिति वा उपसमितिका सबै सदस्यहरू लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णयको विवरणको रुपमा अभिलेख गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ ।

(१०) उपदफा (९) बमोजिमको सहमति सञ्चालक समितिको बैठकको निर्णयसरह मानिनेछ ।