दफा ३४ : ऋण वा डिबेञ्चर उठाउने
(१) कुनै पब्लिक कम्पनीले ऋण वा डिबेञ्चर उठाउन आवश्यक ठानेमा त्यसको कारण, त्यसबाट सम्पन्न हुने कार्य योजना र त्यसको लागि आवश्यक बजेटसमेत निर्धारण गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण वा डिबेञ्चर उठाउन सक्नेछ । तर कारोबार शुरु गर्ने स्वीकृति लिई आफ्नो जारी पूँजी पूर्णरुपमा चुक्ता नभएसम्म डिबेञ्चर उठाउन सकिने छैन ।

(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को अधीनमा रही कम्पनीले अघिल्ला साहूहरूलाई लेखिदिएको सुरक्षणले खामेसम्म सोही सुरक्षण राखी अघिको साहू र थैलीसमेत सबै स्पष्ट देखाई अरु ऋण वा डिबेञ्चर उठाउन सक्नेछ ।

(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीले लिए वा दिएको ऋणको शर्त, भाखा र ब्याजसम्बन्धी कुराहरू साहू र आसामीका बीचमा भएको लिखत वा करारबमोजिम हुनेछ ।

(४) कम्पनीले उपदफा (१) वा (२) बमोजिम ऋण वा डिबेञ्चर उठाउने भएमा त्यसको कारणसहितको जानकारी कार्यालयलाई दिनु पर्नेछ ।