दफा १२२ : शुल्क तथा ब्याजको निर्धारण
(१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनु पर्ने शुल्क तथा ब्याजको निर्धारण विभागले गर्नेछ ।
(२) कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा ब्याज बापतको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रुपमा गणना गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम लगाईने शुल्क तथा ब्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनु पर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा ब्याज बुझाउँदैमा परिच्छेद–२३ मा उल्लिखित फौजदारी कारबाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिने छैन ।
(४) यस दफा बमोजिम शुल्क तथा ब्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाइएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ । यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछ ः–
(क) विभागले शुल्क तथा ब्याज निर्धारण गर्नु परेको कारण,
(ख) बुझाउनु पर्ने शुल्क तथा ब्याज बापतको रकम,
(ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र 
(घ) सो निर्धारण विरुद्ध उजुरी गर्ने समय, स्थान र तरिका ।
(५) यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछ ः–
(क) दफा १०१ को उपदफा (१), उपदफा (२), उपदफा (३) को खण्ड (ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरु यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र 
(ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख), (ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरु यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ ।