दफा ११० : गैर बासिन्दा व्यक्तिको एजेन्टबाट कर असूलउपर गर्ने
 (१) कुनै कर बक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुझाई सक्नु पर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनैपनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बरावरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुझाउनु पर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको आदेश अनुसार कर रकम बुझाएमा निजले देहाय बमोजिम गर्न सक्नेछ ः–
(क) सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिबाट त्यस्तो भुक्तानी रकम असूलउपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि सो व्यक्तिको आफ्नो कब्जामा रहेको वा कब्जामा रहन आउने कर बक्यौता राख्ने व्यक्तिको रकम समेतको कुनै पनि सम्पत्ति त्यसरी भुक्तानी गरिएको रकमभन्दा बढी नहुने गरी आफ्नो अधीनमा लिन ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दाबी गर्न पाउने छैन ।