दफा ११५. : प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
(१) दफा ११४ बमोेजिमका प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णयउपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र सो निर्णय विरुद्ध विभाग समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिने निवेदनमा त्यस्तो पुनरावलोकन हुनु पर्ने कारण तथा आधारहरु स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रिन गई कुनै व्यक्तिले म्याद थपको लागि म्याद गुज्रेको मितिले सात दिनभित्र निवेदन दिएमा विभागले देहाय बमोजिम गर्न सक्नेछ ः–
(क) मनासिब कारण देखिएमा उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रेको मितिबाट बढीमा तीस दिनको लागि म्याद थप्न, र 
(ख) सो निवेदन उपर विभागले गरेको निर्णयको लिखित सूचना निवेदकलाई दिन ।
(४) उपदफा (१) बमोजिम निवेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्र्र्णयको कार्यान्वयनमा असर परेको मानिने छैन ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम कुनै व्यक्तिबाट दिइएको निवेदनको टुंगो नलागेसम्म दफा ११४ को उपदफा (१) बमोजिम भएको निर्णयलाई विभागले तामेलीमा राख्न वा अन्य कुनै किसिमले प्रभावित गर्न सक्नेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि तिर्नु पर्ने करको पचास प्रतिशत रकम नबुझाएसम्म सो उपदफाको व्यवस्था लागू हुने छैन ।
(७) कुनै व्यक्तिले उपदफा (१) बमोजिम दिएको निवेदन उपर विभागले देहाय बमोजिम गर्न सक्नेछ ः–
(क) सो निवेदनमा उल्लिखित कुराहरुलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न, र 
(ख) निवेदन उपरको निर्णयको लिखित सूचना सो व्यक्तिलाई दिन ।
(८) उपदफा (१) बमोजिम निवेदन दिएको मितिले नब्बे दिनभित्र विभागले सो निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ । 
(९) उपदफा (८) बमोजिम निवेदन अस्वीकार गरेको मानेको कुरा सम्बन्धित निवेदकले लिखित रुपमा विभागलाई जानकारी दिनु पर्नेछ । विभागले त्यस्तो जानकारी दर्ता भएको मितिमा त्यस्तो निवेदन अस्वीकार गर्ने निर्णय गरेको र सो व्यक्तिलाई सो निर्णयको सूचना दिएको मानिनेछ ।