दफा ६० : सामान्य बिमा व्यवसाय
(१) सामान्य बिमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बिमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।
(२) सामान्य बिमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः–
(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नु पर्ने कुनै अन्य रकमहरुका अतिरिक्त देहायका रकमहरु प्नि समावेश गर्नु पर्नेछ ः–
(१)सो व्यक्तिले वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बिमाको प्रिमियम लगायत बिमाको प्रिमियम बापतको रकम र 
(२) पुनर्बिमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु ।
(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरु प्नि कट्टा गर्न पाउनेछ ः–
(१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बिमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरु, र 
(२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बिमितलाई फिर्ता दिइएका प्रिमियमहरु ।
(३) कुनै व्यक्तिलाइ कुनै आय वर्षमा दर्ता भएको सामान्य बिमा व्यवसायबाट नोक्सानी भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगत पाँच आय वर्षहरुको आयबाट तोकिए बमोजिम घटाउन पाउनेछ ।
(४) उपदफा (३) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछ ः–
(क) सो विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आयभन्दा बढी हुन नहुने,
(ख) कुल योग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,
(ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “दर्ता भएको सामान्य बिमा व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम नेपालमा दर्ता भई सामान्य बिमा कारेबार गर्ने बिमा व्यवसाय सम्झनु पर्छ ।