दफा ५४ : लाभांशको कर
(१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछ ः–
(क) कुनै कम्पनीको शेयरवालालाई अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र 
(ख) अन्य निकायहरुलाई कर लाग्ने छैन ।
(२) कुनै गैर बासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा कम्पनीले कर छूट हुने संस्थालाई वितरण गरेको लाभांश बाहेक अरु बासिन्दा कम्पनीलाई लाभांश वितरण गर्दा लाभांश पाउने बासिन्दा कम्पनीले लाभांश वितरण गर्ने बासिन्दा कम्पनीको पच्चीस प्रतिशत वा बढी आफैं वा सम्बद्ध निकाय मार्फत नियन्त्रण गरेमा त्यस्तो बासिन्दा कम्पनीलाई वितरण गरिएको लाभांशमा कर लाग्ने छैन ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा देहायको अवस्थामा लागू हुने छैन ः–
(क) लाभांश वितरण गर्ने कम्पनीको बिमोचनीय (रिडिमिवेबल) शेयरको स्वामित्वका कारण कुनै कम्पनीलाई वितरण गरिएको लाभांश ।
(ख) दफा ५८ मा उल्लेख गरिएको लाभांश ।
(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद –८ बमोजिमका आम्दानीहरुमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ ।
तर निकायले वितरण गरेको लाभांश समावेश गर्नु पर्ने छैन ।