दफा ८८ : लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
(१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज , प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क भुक्तानी गर्दा र सो व्यक्ति स्वीकृत अवकाश कोष भएमा कुनै अवकाश भुक्तानीको रकम भुक्तानी गर्दा कुल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।
तर स्वीकृत अवकाश कोषबाट भुक्तानी भएको संचयकोष र उपदानमा छ प्रतिशतका दरले मात्र कर कट्टी गर्नु पर्नेछ ।
(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको लाभांश लगानी बिमाबाट प्राप्त लाभ वा स्वीकृति नलिएको अवकाश कोषबाट प्राप्त लाभ भुक्तानी गर्दा कुल भुक्तानी रकमको दश प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैङ्क वा वित्तीय संस्थाहरुले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप बापत देहाय बमोजिमको ब्याज वा ब्याज स्वरुपको कुनै रकम भुक्तानी दिँदा कुल भुक्तानी रकममा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ः–
(क) नेपालमा स्रोत भएको र 
(ख) व्यवसाय सञ्चालनसंग सम्बन्धित नभएको ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैन ः–
(क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसंग सम्बन्धित भुक्तानी वा घर भाडामा लिए बापत तिरेको भाडा बाहेकका अन्य कुनै भुक्तानी, 
(ख) बासिन्दा बैङ्क वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज वा 
(ग) कर छूट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनु पर्ने भुक्तानी ।