दफा ६१ : लगानी बिमा व्यवसाय
(१) लगानी बिमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा लगानी बिमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।
(२) लगानी बिमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आय गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः–
(क) देहायका रकमहरु बहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरु समावेश गर्ने ः –
(१) सो व्यक्तिले सो व्यवसाय सञ्चालन गर्दा प्रिमियम लगायत बिमा प्रिमियम बापतको रुपमा सो आय वर्षमा प्राप्त गरेको  पुनर्बिमाको रकम, र 
(२) पुनर्बिमा , जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु ।
(ख) देहायका रकमहरु बहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरु कट्टी गर्ने ः–
(१) कुनै व्यक्तिले बिमकको हैसियतमा उक्त व्यवसाय सञ्चालन गर्दा गरेको भुक्तनीहरु, र 
(२) खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित बिमितलाई फिर्ता भएको प्रिमियम ।
(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरु सो व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानी र खर्चहरु मा समावेश गर्नु पर्नेछ ।
(४) कुनै व्यक्तिको लगानी बिमा व्यवसायको लगानी बिमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन ।