Section 12 : Taxable Value
(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नगद मात्र प्रतिफल भएको अवस्थामा आपूर्तिकर्ताले प्रापकसंग लिएको मूल्य मात्र कर लाग्ने मूल्य हुनेछ ।

(२) कर लाग्ने मूल्यमा देहायका रकमहरु समावेश हुनेछन् ः–

(क) कारोबारको सिलसिलामा आपूर्तिकर्ताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु र नाफाको रकम,

(ख) यस ऐन बमोजिमको कर बाहेक अन्तःशुल्क र अन्य कर रकम ।

(३) वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट, कमिसन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिने छैन ।

(४) वस्तु विनिमय अन्तर्गत आदान प्रदान गरिएका वस्तु वा सेवाको कर लाग्ने मूल्य त्यसरी आदान प्रदान गरिएका वस्तु वा सेवाको बजार मूल्य बराबर हुनेछ ।

(५) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयात गरेको वस्तुको कर लाग्ने मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर बाहेक ढुवानी, बीमा, एजेण्ट र अन्य व्यक्तिहरुको कमिसन आदि समेतको पैठारी मूल्य, पैठारी महसुल, समीकारक महसुल र पैठारीमा लाग्ने अन्य कुनै कर भए सो समेत जोडी कर लाग्ने मूल्य कायम गरिनेछ ।

(६) कुनै वस्तु वा सेवाको मूल्य प्रचलित बजार मूल्यभन्दा ज्यादै कम देखिएमा त्यस्तो वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।

(७) आंशिक प्रतिफल लिई आपूर्ति गरेको वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।

(८) कुनै वस्तु वा सेवा बापत राखिएको धरौटी रकम आपूर्तिकर्ताले त्यस्तो वस्तु वा सेवाको प्रतिफलको रुपमा तोकिए बमोजिम मिलान नगरेसम्म कर लाग्ने मूल्य मानिने छैन ।