Section 10 : Registration
(१) यो ऐन प्रारम्भ हुंदाका बखत कुनै कारोबारमा संलग्न रहेका प्रत्येक व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढांचामा दरखास्त दिनु पर्नेछ ।

(२) यो ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने प्रत्येक व्यक्तिले कारोबार शुरु गर्नु भन्दा अघि कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढांचामा दरखास्त दिनु पर्नेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोबार गर्ने व्यक्तिले दर्ता गराउनु पर्ने छैन ।

(४) उपदफा (१) वा (२) बमोजिम रीतपूर्वकको निवेदन दिने प्रत्येक व्यक्तिलाई कर अधिकृतले दर्ता गरी तोकिएको ढाचामा तोकिएको म्यादभित्र दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले दर्ताको प्रमाणपत्र आफ्नो कारोबार सञ्चालन गर्ने प्रमुख स्थानमा सबैले देख्ने गरी राख्नु पर्नेछ र कारोबारको स्थान एकभन्दा बढी भएमा प्रमुख स्थान बाहेक अन्य स्थानमा समेत कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सबैले देखिने गरी राख्नु पर्नेछ ।

(६) दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार सम्बन्धी सबै कारोबार र तोकिए बमोजिमका अन्य कारोबारको सम्बन्धमा समेत गर्नु पर्नेछ ।

(७) उपदफा (१) वा (२) बमोजिम दर्ताको लागि दिएको दरखास्तमा उल्लिखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको पन्ध्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेछ ।