Section 6 : Place and Time of supply
(१) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति नेपालभित्र वा बाहिर भएको कुराको निर्धारण तोकिए बमोजिम हुनेछ ।

(२) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति देहायको समयमध्येमा जुन पहिले हुन्छ सोही समयमा त्यस्तो वस्तु वा सेवाको आपूर्ति भएको मानिनेछ ः–

(क) आपूर्तिकर्ताले बीजक जारी गरेको बखत,

(ख) वस्तुको आपूर्तिको हकमा प्रापकले आपूर्तिकर्ताको कारोबार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखत,

(ग) सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत,

(घ) आपूर्तिकर्ताले वस्तु वा सेवाको प्रतिफल प्राप्त गरेको बखत ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थाहरुमा देहाय बमोजिमको समयलाई आपूर्ति समय मानिनेछ ः–

(क) निरन्तर रुपमा आपूर्ति हुने दूर सञ्चार सेवा वा त्यस्तै अन्य सार्वजनिक सेवाहरुको हकमा बीजक जारी गर्दाको समय,

(ख) करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एकभन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नु पर्ने भनेर उल्लेख गरिएको दिनमध्ये जुन पहिले हुन्छ सो समय,

(ग) यस ऐन अन्तर्गत कर कट्टी सुविधा प्राप्त नहुने गरी प्रयोग भएका वस्तु वा सेवाको हकमा त्यस्तो वस्तु वा सेवा प्रयोग भएको समय ।

(४) कुनै कारोबारको आपूर्ति समयको सम्बन्धमा उपदफा (२) मा उल्लिखित अवस्थाहरुमध्ये एकैपटक एकभन्दा बढी अवस्थाहरु लागू हुन सक्ने भएमा त्यस्तो कारोबारमा आपूर्तिको समयको निर्धारण महानिर्देशकले वस्तुगत आधारमा तोके बमोजिम हुनेछ ।