Section 2 : Definitions
विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–

(क) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर सम्झनु पर्छ ।

(ख) “कारोबार” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने कार्य सम्झनु पर्छ ।

(ग) “कर लाग्ने कारोबार” भन्नाले दफा ५ को उपदफा (१) मा उल्लिखित कारोबार सम्झनु पर्छ ।  

(घ) “कर लाग्ने मूल्य” भन्नाले कुनै वस्तु वा सेवाको सम्बन्धमा दफा १२ बमोजिम कायम गरिने मूल्य सम्झनु पर्छ ।

(ङ) “वस्तु” भन्नाले चल वा अचल दुबै किसिमको सम्पत्ति सम्झनु पर्छ ।

(च) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।  

(छ) “आपूर्ति” भन्नाले प्रतिफल लिई कुनै वस्तु वा सेवा बिक्री, विनिमय, हस्तान्तरण गर्ने कार्य वा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्य सम्झनु पर्छ ।  

(ज) “प्रतिफल” भन्नाले नगद, वस्तु, सेवा वा मूल्य बापत प्राप्त हुने कुनै पनि कुरा सम्झनु पर्छ ।

(झ) “आयात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल अधिराज्यभित्र पैठारी गर्ने कार्य सम्झनु पर्छ ।

(ञ) “निर्यात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल अधिराज्यबाहिर निकासी गर्ने कार्य सम्झनु पर्छ ।

(ट) “बजार मूल्य” भन्नाले दफा १३ बमोजिम निर्धारित मूल्य सम्झनु पर्छ ।

(ठ) “व्यक्ति” भन्नाले कुनै व्यक्ति, फर्म, कम्पनी, संघ, संस्था, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय, गुठी वा कोष सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक संगठन, परोपकारी संस्था वा त्यस्तै अन्य निकायहरु र तिनका शाखा वा उपशाखाहरुलाई समेत जनाउंछ ।

(ड) “दर्ता भएको व्यक्ति” भन्नाले दफा १० बमोजिम कारोबार गर्न दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।

(ढ) “दर्ता नम्वर” भन्नाले  दर्ता भएको व्यक्तिलाई दफा १० बमोजिम प्रदान गरिएको नम्वर सम्झनु पर्छ ।

(ण) “आपूर्तिकर्ता” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने व्यक्ति सम्झनु पर्छ ।

(त) “प्रापक” भन्नाले कुनै वस्तु वा सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।

(थ) “करदाता” भन्नाले कर लाग्ने कारोबारमा संलग्न व्यक्ति सम्झनु पर्छ ।

(द) “विभाग” भन्नाले कर प्रशासनको निमित्त उत्तरदायी हुने गरी श्री ५ को सरकारले तोकेको अर्थ मन्त्रालय अन्तर्गतको कुनै विभाग सम्झनु पर्छ ।

(ध) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।

(न) “कर अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त श्री ५ को सरकारले नियुक्त गरेको कर अधिकृत, प्रमुख कर अधिकृत वा यो ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी श्री ५ को सरकारले तोकेको अन्य कुनै अधिकृत सम्झनु पर्छ ।

(प) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।