दफा ५१ : शेयर, डिबेञ्चर र ऋणको लगत
(१) प्रत्येक कम्पनीले वार्षिक साधारण सभा हुनुभन्दा तीस दिनअघिसम्म तत्काल कायम रहेका र खारेज भएका शेयरधनी र डिबेञ्चरवालाहरूको लगत तयार गरी राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको लगतमा अन्य कुराका अतिरिक्त देहायका कुराहरूसमेत खुलाउनु पर्नेछ ः–

(क) कम्पनीको अधिकृत पूँजी र शेयरको संख्या,

(ख) कम्पनीको जारी शेयर पूँजी,

(ग) कम्पनीको चुक्ता पूँजी,

(घ) शेयरपिच्छे माग भएको रकम,

(ङ) किस्ता असूल भएको जम्मा रकम,

(च) असूल हुन बाँकी रहेको जम्मा रकम,

(छ) शेयर वा डिबेञ्चरमा दलाली दस्तुरबापत दिएको जम्मा रकम,

(ज) कुनै शेयर जफत गरिएकोमा त्यस्तो शेयरको जम्मा संख्या, जफत भएको कारण र मिति,

(झ) बैङ्क, वित्तीय संस्था वा अन्य कुनै व्यक्तिबाट लिएको ऋण वा कम्पनीले दिएको जमानत,

(ञ) बहालवाला सञ्चालकको नाम र ठेगाना ।

(३) उपदफा (१) बमोजिमको लगत कम्पनीको वार्षिक साधारण सभा भएको मितिले तीस दिनभित्र र वार्षिक साधारण सभा नगर्ने कम्पनी भए प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको स्वीकृति चाहिने कारोबार गर्ने भए त्यस्तो स्वीकृति प्राप्त गरेको र स्वीकृति नचाहिने भए दर्ता भएको एक वर्षभित्र कम्तीमा एकजना सञ्चालकले सही गरी कार्यालयमा पठाउनु पर्नेछ र उपदफा (२) बमोजिम एकपटक लगत पेश गरिसकेपछि सो लगतमा कुनै हेरफेर भएमा त्यस्तो हेरफेरको व्यहोरा मात्र पेश गर्न सकिनेछ ।

(४) साधारण सभा नगर्ने कम्पनीको उपदफा (१) बमोजिमको लगतमा कुनै हेरफेर भएमा त्यसरी हेरफेर भएको छ महिनाभित्र सोको विवरण कार्यालयमा पठाउनु पर्नेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कम्पनीले दफा ७८ बमोजिम पेश गर्नु पर्ने प्रतिवेदनमा उपदफा (२) बमोजिमका विवरणहरुसमेत उल्लेख गरेको भए त्यस्तो कम्पनीले यस दफाबमोजिम छुट्टै लगत कार्यालयमा पठाउनु पर्ने छैन ।