दफा २९ : प्रिमियम मूल्यको शेयर जारी गर्न सकिने
(१) देहायको अवस्था पूरा गर्ने कुनै कम्पनीले कार्यालयको पूर्वस्वीकृति लिई प्रिमियम मूल्यको शेयर जारी गर्न सक्नेछ ः–

(क) लगातार तीन वर्षसम्म कम्पनी मुनाफामा सञ्चालन भई लाभांश वितरण गरेको,

(ख) कम्पनीको सम्पूर्ण दायित्वभन्दा खुद सम्पत्ति (नेटवर्थ बढी भएको,

(ग) कम्पनीको साधारण सभाले प्रिमियम मूल्यका शेयर जारी गर्ने निर्णय गरेको ।

(२) उपदफा (१) बमोजिम प्रिमियम मूल्यमा शेयर बिक्री भएकोमा सोबाट प्राप्त रकममध्ये अङ्कित मूल्यभन्दाबढी रकम प्रिमियम खाता खोली जम्मा गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको खातामा रहेको रकमलाई कम्पनीले देहायका कामको लागि प्रयोग गर्न सक्नेछ ः–

(क) जारी नगरिएको शेयर पूँजीमध्येबाट शेयरधनीहरूलाई पूर्ण मूल्य चुक्ता भएको बोनस शेयर बाँडफाँड गरी जारी गर्न,

(ख) फिर्ता हुने कुनै अग्राधिकार शेयर फिर्ता गर्दा तिर्नु पर्ने प्रिमियमको सम्बन्धमा रकम व्यवस्था गर्न,

(ग) कम्पनीले गरेको प्रारम्भिक खर्च मिन्हा गर्न,

(घ) कम्पनीको शेयर जारी गर्ने सम्बन्धमा भएको खर्च वा भुक्तानी गरिएको कमिशन वा डिस्काउण्ट रकम व्यहोर्न वा शोधभर्ना गर्न ।

(४) उपदफा (१) बमोजिम प्रिमियम मूल्यको शेयर जारी गर्न कार्यालयको स्वीकृति माग गर्दा तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।