दफा १३ : प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुने
(१) कुनै प्राइभेट कम्पनी देहायका अवस्थामा यस दफाबमोजिम पब्लिक कम्पनीमा परिणत हुनेछ ः–

(क) प्राइभेट कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने निर्णय गरेमा,

तर पब्लिक कम्पनी हुनको निमित्त यस ऐनबमोजिम आवश्यक शर्तहरू पूरा नगरेमा प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुन सक्ने छैन ।

(ख) प्राइभेट कम्पनीको पच्चीस प्रतिशत वा सोभन्दा बढी शेयर एक वा एकभन्दा बढी पब्लिक कम्पनीले खरिद गरेमा,

तर यस खण्डबमोजिमको प्रतिशत निर्धारण गर्दा कुनै बैङ्किङ्ग वा वित्तीय कम्पनीले ट्रष्टीको रुपमा शेयरहरू कब्जामा लिएको अवस्थामा त्यस्तो शेयरको गणना गरिने छैन ।

(ग) प्राइभेट कम्पनीले कुनै पब्लिक कम्पनीको पच्चीस प्रतिशत वा सोभन्दा बढी शेयर
खरिद गरेमा ।

(२) उपदफा (१) को खण्ड (क) को अवस्थामा सो खण्डमा उल्लिखित निर्णयको प्रतिलिपि संलग्न राखी सम्बन्धित प्राइभेट कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनको लागि त्यसरी निर्णय भएको मितिले तीस दिनभित्र कार्यालयसमक्ष तोकिएबमोजिमको दस्तुरसहित तोकिएबमोजिम निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कार्यालयसमक्ष निवेदन प्राप्त हुनआएमा सम्बन्धित प्राइभेट कम्पनीले यस ऐनबमोजिम पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गर्नका लागि आवश्यक शर्तहरू पूरा गरेको भएमा कम्पनी दर्ताकिताबमा त्यस्तो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरेको व्यहोराजनाई साठी दिनभित्र तोकिएबमोजिम कम्पनी परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपदफा (१) को खण्ड (ख) वा (ग) को अवस्था परी कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत गर्नु पर्ने भएमा त्यस्तो अवस्था सृजना भएको मितिले सात दिनभित्र सम्पूर्ण व्यहोरा खुलाई सम्बन्धित प्राइभेट कम्पनीले पब्लिक कम्पनीमा परिणत हुनको लागि कार्यालयसमक्ष तोकिएबमोजिमको दस्तुरसहित तोकिएबमोजिम निवेदन दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम कार्यालयसमक्ष निवेदन प्राप्त हुन आएमा त्यस्तो कम्पनीले यस ऐनबमोजिम पब्लिक कम्पनीले कारोबार सञ्चालन गर्न पूरा गर्नु पर्ने शर्तहरु पूरा गरेको भए कार्यालयले कम्पनी दर्ताकिताबमा त्यस्तो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरेको व्यहोराजनाई तोकिएबमोजिम कम्पनी परिणत भएको प्रमाणपत्र दिनु पर्नेछ ।

(६) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएमा सो कम्पनीको सहायक कम्पनीसमेत सोही मितिदेखि स्वतः पब्लिक कम्पनीमा परिणत भएको मानिनेछ ।

(७) उपदफा (६) बमोजिम पब्लिक कम्पनीमा परिणत भएकोमा कम्पनी दर्ताकिताबमा त्यस्ता सहायक कम्पनी पब्लिक कम्पनीमा परिणत भएको व्यहोराजनाई प्रमाणपत्र लिनको लागि कार्यालयसमक्ष आवश्यक कागजातसहित निवेदन दिने दायित्व सम्बन्धित कम्पनीको हुनेछ ।

(८) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएमा त्यसरी परिणत भएको मितिदेखि यस ऐनबमोजिम पब्लिक कम्पनीको सम्बन्धमा लागू हुने व्यवस्थाहरू त्यस्तो कम्पनीलाई स्वतः लागू भएको मानिनेछ ।

(९) यस दफाबमोजिम कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत भएकोमा त्यसरी परिणत भएको प्राइभेट कम्पनीको सबै सम्पत्ति तथा दायित्वहरू पछिल्लो कम्पनीमा सर्नेछ ।