दफा ७५ : विवरण राख्नु पर्ने
(१) प्रत्येक कम्पनीले साधारण सभामा भएको काम कारबाहीको विवरण ( माईन्यूट) एउटा छुट्टै किताबमा राख्नु पर्नेछ र सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र कम्पनी सचिव भए कम्पनी सचिवले दस्तखत गर्नु पर्नेछ । कम्पनी सचिव नभएको कम्पनीको हकमा सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र साधारणसभाद्वारा बहुमतबाट नियुक्त शेयरधनीहरुको एकजना प्रतिनिधिले दस्तखत गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको विवरण राख्दा सभाको सूचना कसरी जारी गरियो, कति शेयरधनीहरू उपस्थित थिए, जम्मा शेयरको कति प्रतिशतको प्रतिनिधित्व भएको थियो, सभामा के के निर्णय गरियो र मतदान भएकोमा मतदानको परिणाम के भयो आदि सबै कुराहरू खुलाउनु पर्नेछ ।

(३) साधारण सभा भएको तीस दिनभित्र यस दफाबमोजिम लेखिएको विवरण शेयरधनीहरूलाई पठाउनु पर्नेछ ।

तर कुनै कम्पनीले सो विवरण राष्ट्रियस्तरको दैनिकपत्रिकामा प्रकाशित गरेमा शेयरधनीहरुलाई पठाइरहनु पर्ने छैन ।

(४) उपदफा (१) बमोजिम राखिएको साधारण सभाको काम कारबाहीको विवरण कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नु पर्नेछ । त्यस्तो विवरण कार्यालय समयभित्र कुनै शेयरधनीले हेर्न चाहेमा कम्पनी सचिव वा कम्पनीले तोकेको अन्य कर्मचारीले हेर्न दिनु पर्नेछ ।

(५) कुनै शेयरधनीले साधारण सभाको काम कारबाहीको विवरणको प्रतिलिपि लिन चाहेमा कम्पनीले नियमावलीमा तोकेबमोजिमको दस्तुर लिई प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।