दफा ४ : कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्ने
(१) दफा ३ बमोजिम कम्पनीको संस्थापना गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिएको दस्तुर तथा देहायका कागजातहरूसमेत संलग्न राखी कार्यालयमा निवेदन दिनु पर्नेछ ः–

(क) प्रस्तावित कम्पनीको प्रबन्धपत्र,

(ख) प्रस्तावित कम्पनीको नियमावली,

(ग) पब्लिक कम्पनी भए कम्पनी संस्थापना गर्नुअघि संस्थापकहरूबीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि,

(घ) प्राइभेट कम्पनी भए सर्वसम्मत सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि,

(ङ) प्रचलित कानूनबमोजिम कुनै खास प्रकारको व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी दर्ता गर्नुअघि प्रचलित कानूनबमोजिम कुनै निकायको पूर्व–स्वीकृति वा इजाजत लिनु पर्ने व्यवस्था गरिएको भए त्यस्तो स्वीकृति वा इजाजतपत्र,

(च) नेपाली नागरिक संस्थापक भएमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र संगठित संस्था संस्थापक भएमा त्यस्तो संस्थाको दर्ता प्रमाणपत्र, कम्पनी संस्थापना गर्नेेसम्बन्धी सञ्चालक समितिको निर्णय र त्यस्तो संस्थाको संस्थापनासम्बन्धी प्रमुख लिखतहरु,

(छ) विदेशी व्यक्ति वा कम्पनी वा निकाय संस्थापक भएमा प्रचलित कानूनबमोजिम नेपालमा लगानी वा व्यवसाय वा कारोबार गर्ने बारेमा प्राप्त अनुमतिपत्र,

(ज) विदेशी व्यक्ति संस्थापक भएमा निज कुन मुलुकको नागरिक हो सो प्रमाणित गर्ने लिखत,

(झ) विदेशी कम्पनी वा निकाय संस्थापक भएमा त्यस्तो कम्पनी वा निकायको संस्थापनाको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा संस्थापनासम्बन्धी प्रमुख लिखतहरु ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक व्यक्ति मात्र संस्थापक रहेको एकल शेयरधनी भएको कम्पनीको संस्थापनाको लागि तोकिएको ढाँचाको नियमावलीलाई नै संस्थापकले स्वीकार गर्न मञ्जुर गरेमा प्रस्तावित कम्पनीको नियमावली पेश गर्नु पर्ने छैन ।