दफा ४६ : शेयरधनी र डिबेञ्चरवालाको दर्ताकिताब
(१) प्रत्येक कम्पनीले तोकिएको ढाँचामा शेयरधनीको दर्ताकिताब र डिबेञ्चरवालाको दर्ताकिताब खडा गरी कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको शेयरधनीको दर्ताकिताबमा शेयरको क्रमसंख्या अनुसार प्रत्येक शेयरधनीको सम्बन्धमा देहायका कुरा खुलाई राख्नु पर्नेछ ः–

(क) शेयरधनीको पूरा नाम र ठेगाना,

(ख) शेयरधनीले लिएको शेयर संख्या,

(ग) शेयरधनीले शेयरबापत चुक्ता गरेको जम्मा रकम र चुक्ता गर्न बाँकी रकम,

(घ) शेयरधनीको रुपमा निजको नाम दर्ता भएको मिति,

(ङ) शेयरधनीको नाम खारेज भएको मिति,

(च) शेयरधनीको शेषपछि शेयरमा हक लाग्ने गरी कुनै व्यक्तिलाई इच्छाइएको भए त्यस्तो व्यक्तिको नाम र ठेगाना ।

(३) उपदफा (१) बमोजिमको डिबेञ्चरवालाको दर्ताकिताबमा डिबेञ्चरको क्रमसंख्या अनुसार प्रत्येक डिबेञ्चरवालाको सम्बन्धमा देहायका कुराहरू खुलाई राख्नु पर्नेछ ः–

(क) डिबेञ्चरवालाको पूरा नाम र ठेगाना,

(ख) डिबेञ्चरवालाले लिएको डिबेञ्चर संख्या,

(ग) डिबेञ्चरवालाले डिबेञ्चरबापत चुक्ता गरेको जम्मा रकम र चुक्ता गर्न बाँकी रकम,

(घ) डिबेञ्चरवालाको रुपमा निजको नाम दर्ता भएको मिति,

(ङ) डिबेञ्चरवालाको नाम खारेज भएको मिति,

(च) डिबेञ्चरवालाको शेषपछि डिबेञ्चरमा हक लाग्ने गरी कुनै व्यक्तिलाई इच्छाइएको भए त्यस्तो व्यक्तिको नाम र ठेगाना ।

(४) कम्पनीको शेयरधनी वा डिबेञ्चरवालाले उपदफा (१) बमोजिम खडा गरेको दर्ताकिताब निरीक्षण गर्न चाहेमा कम्पनीले निरीक्षण गर्न दिनु पर्नेछ । तर पब्लिक कम्पनीको हकमा राष्ट्रियस्तरको पत्रिकामा सात दिन अगावै सूचना प्रकाशन गरी र प्राइभेट कम्पनीको हकमा नियमावली वा सर्वसम्मत सम्झौतामा उल्लेख भएबमोजिम एक वर्षमा पैंतालीस दिनमा नबढाई एकपटकमा बढीमा तीस दिनसम्म दर्ताकिताबको निरीक्षण बन्द गर्न सकिनेछ ।

(५) कसैले शेयरधनीको दर्ताकिताबको प्रतिलिपि लिन चाहेमा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम निरीक्षण बन्द गरिएको अवस्थामा बाहेक पब्लिक कम्पनीको हकमा तोकिएबमोजिमको र प्राइभेट कम्पनीको हकमा प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा उल्लेख भएबमोजिमको दस्तुर लिई प्रतिलिपि दिनु पर्नेछ ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत कम्पनीले धितोपत्र निक्षेप सेवा प्रदान गर्न प्रचलित कानूनबमोजिम मान्यताप्राप्त धितोपत्र रजिष्ट्रारलाई दर्ताकिताब राख्न लगाउन सक्नेछ । त्यसरी राखिएको दर्ताकिताबको एक प्रति प्रत्येक वर्ष वार्षिक साधारण सभा हुने सूचना गर्नुभन्दा अघि कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नु पर्नेछ । सो दर्ताकिताबमा उपदफा (२) र (३) मा उल्लिखित कुराहरू खुलाइएको हुनु पर्नेछ ।

(७) उपदफा (६) अनुसार राखिएको दर्ताकिताबमा कसैको हक हितमा असर पर्ने गरी भूmट्टा कुरा अभिलेख गरेको पाइएमा त्यस्तो धितोपत्र रजिष्ट्रार, निजको सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई दफा १६० मा उल्लिखित दण्ड जरिबानाका अतिरिक्त भूmट्टा अभिलेख राखिएको कारणबाट पुग्न गएको हानि नोक्सानीसमेत सम्बन्धित पक्षले भराई लिन पाउनेछ ।