Section 20 : Loss from business or investment:
(१)    कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछ ः–

(क)    सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, र

“(ख) त्यस्तो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी ।
तर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन तथा प्रसारण गर्ने आयोजना र नेपाल पेट्रोलियम  ऐन,  २०४०  बमोजिम  पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह« वर्षको कट्टी हुन नपाएको नोक्सानी ।”

“(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि त्यस्तो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको उक्त वर्षको कट्टी हुन नपाएको नोक्सानी र त्यस्तो  व्यक्तिको उक्त लगानी र अन्य कुनै  लगानीबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ ।”

(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाहरुको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ ।

(४) उपदफा (१) र (२) को अधीनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी व्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानी दीर्घाकालीन करारसंग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछ ः–
(क) विगतको आय वर्ष वा वर्षहरुमा पछाडि सारी लैजान  पाउने ,र 
(ख) सो वर्ष वा वर्ष वा वर्षहरुमा सो दीर्घकालीन करारसंग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरु खर्चतर्फ समावेश हुने रकमहरुभन्दा बढी भए जतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने ।

(५) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरुसंग सम्बन्धित रहेको मानी बाँढफाँड गर्नु पर्नेछ ः–
(क) व्यवसायसँग सम्बन्धित दीर्घकालीन करार वा करारहरुबाट भएको नोक्सानी, र
(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसंग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरु सो करारसंग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी ।

(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निधारण गर्न सक्नेछ ।

(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरुभन्दा कट्टी गरिने रकमहरु बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “कट्टी हुन नपाएको नोक्सानी” भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्झनु पर्छ ।

(८) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्ण कर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामी आय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन ।”