दफा २३ : जांच तथा परीक्षण सम्बन्धी अधिकार
(१) यस ऐन बमोजिम दर्ता गर्नु पर्ने करदाताले दर्ता नगरी कर लाग्ने कारोबार गरेको छ भन्ने कुरामा विश्वास गर्नु पर्ने मनासिब आधार भएमा कर अधिकृतले जांचबुझ गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जांचबुझ गर्ने, दर्ता भएको व्यक्तिले दफा १८ बमोजिम पेश गरेको कर विवरण जांच गर्ने र दफा २० बमोजिम कर निर्धारण गर्ने प्रयोजनका लागि कर अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछ ः–

(क) कर दायित्वसंग सम्बन्धित वस्तुहरु, स्थान, कागजात, लेखा तथा अभिलेख जांच गर्ने,

(ख) करदाताको कारोबार स्थल वा यस ऐन अन्तर्गत कसूर मानिने कार्यसित सम्बन्धित प्रमाणहरु हुन सक्ने सम्भावना भएका अन्य स्थलहरुमा खानतलासी लिने,

(ग) आफ्नो कर्तव्यपालनको सिलसिलामा कुनै अभिलेख, किताब, खाता, कागजातहरु तयार गर्ने वा तिनीहरुमा विवरण भर्ने व्यक्तिसंग जानकारी माग गर्ने,

(घ) करदाताको कारोबारस्थल वा सोसंग सम्बन्धित अन्य स्थलमा रहेको कुनै कागजात, किताब तथा अभिलेखलाई हटाउने वा कब्जा गर्ने वा अन्यत्र लैजाने,

(ङ) करदाताको कारोबार सञ्चालन गर्ने स्थान वा कर कार्यालय वा अन्य कुनै उपयुक्त स्थानमा करको लेखापरीक्षण गर्ने ।

(३) कर अधिकृतले बैंक तथा वित्तीय संस्था लगायत कुनै व्यक्तिसंग कुनै करदाताको कारोबारको सम्बन्धमा कुनै कुराको जानकारी माग गरेमा त्यस्तो सूचना कर अधिकृतलाई दिनु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ ।