Section 75 : Minutes to be kept
(१) प्रत्येक कम्पनीले साधारण सभामा भएको काम कारबाहीको विवरण ( माईन्यूट) एउटा छुट्टै किताबमा राख्नु पर्नेछ र सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र कम्पनी सचिव भए कम्पनी सचिवले दस्तखत गर्नु पर्नेछ । कम्पनी सचिव नभएको कम्पनीको हकमा सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र साधारणसभाद्वारा बहुमतबाट नियुक्त शेयरधनीहरुको एकजना प्रतिनिधिले दस्तखत गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको विवरण राख्दा सभाको सूचना कसरी जारी गरियो, कति शेयरधनीहरू उपस्थित थिए, भिडियो कन्फरेन्स वा त्यस्तै प्रकारको अन्य प्रविधि मार्फत साधारण सभामा उपस्थित भएकोमा त्यसरी उपस्थित हुने सञ्चालकको संख्या, जम्मा शेयरको कति प्रतिशतको प्रतिनिधित्व भएको थियो, सभामा के के निर्णय गरियो र मतदान भएकोमा मतदानको परिणाम के भयो आदि सबै कुराहरू खुलाउनु पर्नेछ ।

(३) साधारण सभा भएको तीस दिनभित्र यस दफाबमोजिम लेखिएको विवरण शेयरधनीहरूलाई पठाउनु पर्नेछ ।

तर कुनै कम्पनीले सो विवरण राष्ट्रियस्तरको दैनिकपत्रिकामा प्रकाशित गरेमा शेयरधनीहरुलाई पठाइरहनु पर्ने छैन ।

(४) उपदफा (१) बमोजिम राखिएको साधारण सभाको काम कारबाहीको विवरण कम्पनीको रजिष्टर्ड कार्यालयमा राख्नु पर्नेछ । त्यस्तो विवरण कार्यालय समयभित्र कुनै शेयरधनीले हेर्न चाहेमा कम्पनी सचिव वा कम्पनीले तोकेको अन्य कर्मचारीले हेर्न दिनु पर्नेछ ।

(५) कुनै शेयरधनीले साधारण सभाको काम कारबाहीको विवरणको प्रतिलिपि लिन चाहेमा कम्पनीले नियमावलीमा तोकेबमोजिमको दस्तुर लिई प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।