Section 5 : Registration of company
(१) दफा ४ बमोजिम कम्पनी संस्थापना गर्न निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी निवेदन परेको मितिले सात दिनभित्र तोकिएको दस्तुर लिई त्यस्तो कम्पनी दर्ता गरी तोकिएबमोजिमको ढाँचामा निवेदकलाई कम्पनी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । तोकिएको समयभित्र दर्ता नभएमा कार्यालयले प्रस्तावित कम्पनीलाई तीन दिनभित्र कारण सहितको जानकारी दिनुपर्ने छ ।

(१क) निवेदन तथा प्रमाणपत्र सम्बन्धी कागजातहरु प्रमाणीकरण गर्दा विद्युतीय हस्ताक्षरसमेत मान्य हुनेछ र कागजातहरु विद्युतीय माध्यमबाट प्रस्तुत गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम कम्पनी दर्ता भएपछि कम्पनी संस्थापना भएको मानिनेछ ।

(३) उपदफा (१) को प्रयोजनको निमित्त तोकिएबमोजिमको ढाँचामा कार्यालयले कम्पनी दर्ताकिताब राख्नेछ ।

(४) यस दफाबमोजिम कम्पनी संस्थापना भएपछि यस ऐनको अधीनमा रही प्रबन्धपत्र र नियमावलीमा लेखिएका कुराहरू कम्पनी र यसका प्रत्येक शेयरधनी तथा शेयरधनीहरूबीच एक आपसमा भएको छुट्टाछुट्टै सम्झौतामा गरिएको व्यवस्थासरह कम्पनी र यसका शेयरधनीहरूलाई बन्धनकारी हुनेछन् ।

(५) यस ऐनबमोजिम कम्पनी दर्ता नगरी कुनै व्यक्तिले कम्पनी शब्दको प्रयोग गरी कुनै फर्म वा संस्थाको नामबाट कुनै पनि किसिमको कारोबार गर्न पाउने छैन ।