Section 12 : Taxable Value | Value Added Tax Act, 2052 (1996) [ amended with Finance Ordinance 2059 (2002) (2003-01-06) ]
Section 12 : Taxable Value
(१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नगद मात्र प्रतिफल भएको अवस्थामा आपूर्तिकर्ताले प्रापकसंग लिएको मूल्य मात्र कर लाग्ने मूल्य हुनेछ ।(२) कर लाग्ने मूल्यमा देहायका रकमहरु समावेश हुनेछन् ः–
(क) कारोबारको सिलसिलामा आपूर्तिकर्ताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु र नाफाको रकम,
(ख) यस ऐन बमोजिमको कर बाहेक अन्तःशुल्क र अन्य कर रकम ।
(३) वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट, कमिसन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिने छैन ।
(४) वस्तु विनिमय अन्तर्गत आदान प्रदान गरिएका वस्तु वा सेवाको कर लाग्ने मूल्य त्यसरी आदान प्रदान गरिएका वस्तु वा सेवाको बजार मूल्य बराबर हुनेछ ।
(५) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयात गरेको वस्तुको कर लाग्ने मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर बाहेक ढुवानी, बीमा, एजेण्ट र अन्य व्यक्तिहरुको कमिसन आदि समेतको पैठारी मूल्य, पैठारी महसुल, समीकारक महसुल र पैठारीमा लाग्ने अन्य कुनै कर भए सो समेत जोडी कर लाग्ने मूल्य कायम गरिनेछ ।
(६) कुनै वस्तु वा सेवाको मूल्य प्रचलित बजार मूल्यभन्दा ज्यादै कम देखिएमा त्यस्तो वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।
(७) आंशिक प्रतिफल लिई आपूर्ति गरेको वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।
(८) कुनै वस्तु वा सेवा बापत राखिएको धरौटी रकम आपूर्तिकर्ताले त्यस्तो वस्तु वा सेवाको प्रतिफलको रुपमा तोकिए बमोजिम मिलान नगरेसम्म कर लाग्ने मूल्य मानिने छैन ।