Section 10 : Registration | Value Added Tax Act, 2052 (1996) [ amended with Finance Ordinance 2059 (2002) (2003-01-06) ]
Section 10 : Registration
(१) यो ऐन प्रारम्भ हुंदाका बखत कुनै कारोबारमा संलग्न रहेका प्रत्येक व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले नब्बे दिनभित्र कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढांचामा दरखास्त दिनु पर्नेछ ।(२) यो ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने प्रत्येक व्यक्तिले कारोबार शुरु गर्नु भन्दा अघि कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढांचामा दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोबार गर्ने व्यक्तिले दर्ता गराउनु पर्ने छैन ।
(४) उपदफा (१) वा (२) बमोजिम रीतपूर्वकको निवेदन दिने प्रत्येक व्यक्तिलाई कर अधिकृतले दर्ता गरी तोकिएको ढाचामा तोकिएको म्यादभित्र दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(५) दर्ता भएको व्यक्तिले दर्ताको प्रमाणपत्र आफ्नो कारोबार सञ्चालन गर्ने प्रमुख स्थानमा सबैले देख्ने गरी राख्नु पर्नेछ र कारोबारको स्थान एकभन्दा बढी भएमा प्रमुख स्थान बाहेक अन्य स्थानमा समेत कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सबैले देखिने गरी राख्नु पर्नेछ ।
(६) दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार सम्बन्धी सबै कारोबार र तोकिए बमोजिमका अन्य कारोबारको सम्बन्धमा समेत गर्नु पर्नेछ ।
(७) उपदफा (१) वा (२) बमोजिम दर्ताको लागि दिएको दरखास्तमा उल्लिखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको पन्ध्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेछ ।