दफा १७ : कर कट्टी | मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा १७ : कर कट्टी
(१) दर्ता भएको व्यक्तिले आफ्नो कर लाग्ने कारोबारसंग सम्बन्धित वस्तु वा सेवा आयात वा प्राप्त गर्दा तिरेको वा तिर्नुपर्ने करको रकम आफूले उठाएको करको रकमबाट कट्टी गर्न सक्नेछ ।(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यावसायिक वा व्यक्तिगत दुबै प्रयोजनको लागि प्रयोग हुन सक्ने देहायका वस्तुहरुका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रूपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ ः–
(क) हवाइजहाज,
(ख) मोटर,
(ग) कम्प्युटर,
(घ) धेरै मुल्य पर्ने तोकिए बमोजिमका अन्य वस्तुहरु ।
(३) कुनै महिनामा कारोबार भएको वस्तु वा सेवाको पूर्ण अंश कर लाग्ने कारोबारमा प्रयोग नभएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर कट्टी सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र तोकिए बमोजिम प्रदान गरिनेछ ।
(४) यस दफा बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिनेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ ।
(६) यस ऐन बमोजिमको कर कट्टी सुविधा तोकिए बमोजिमका कागजातहरुद्वारा दाबी प्रमाणित भएपछि मात्र दिइनेछ ।
(७) दर्ता हुंदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नु पर्ने कर कट्टी गर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।