अनुसूची – १
(दफा ४ संग सम्वन्धित)
करका दरहरु
१. प्राकृतिक व्यक्तिको सम्बन्धमा ः 

(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ ः–
(क) पैसठ्ठी हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) पैसठ्ठी हजार रुपैयाँभन्दा बढी तर एकलाख चालीस हजार रुपैयाँसम्म करयोग्य आय भएमा पैसठ्ठी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) एक लाख चालीस हजार रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा एकलाख चालीस हजार रुपैयाँ सम्मको करयोग्य आयमा रु. ११,२५०।– र एक लाख चालीस हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।


(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पत्तिको करयोग्य आयमा यस अनुसुचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ ः–
(क) पचासी हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) पचासी हजार रुपैयाँभन्दा बढी तर एकलाख साठी हजार रुपैयाँसम्म करयोग्य आय पचासी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) एक लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एक लाख साठी हजार रुपैयाँसम्मको करयोग्य आयमा रु ११,२५०।– र एक लाख साठी हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।


(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुने ः–
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पैसठ्ठी हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचासी हजार रुपैयाँभन्दा बढी आय भएको, र 
(ख) गैर–व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदअनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।


(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ ः–
(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा सो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ ः–
(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम, वा 
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पैसठ्ठी हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा पचासी हजार रुपैयाँ ।
(ख) सो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।

(५) श्री ५को सरकारले तोकेको दुर्गम क्षेत्रमा बसोबास गर्ने प्राकृतिक व्यक्तिहरुको लागि यस अनुसूचीको उपदफा (१), (२), (३) र (४) मा उल्लिखित कर नलाग्ने सीमाको रकम पैसठ्ठी हजार रुपैयाँ र पचासी हजार रुपैयाँमा दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीसहजार रुपैयाँसम्म वृद्धि गर्न सकिनेछ ।


(६) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिमको सीमा एक लाख रुपैयाँ आय र दश लाख रुपैयाँ बराबरको कारेबार हुनेछ ।


(७) यस ऐनको दफा ४ का उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ ः–
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुईहजार रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ,
(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार रुपैयाँ ।


(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चिस प्रतिशतका दरले कर लाग्नेछ ।


(९) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकम को पच्चीस प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।

(१०) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।  

सवारीको किसिम                 प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर

 (अ) मिनिवस, मिनि ट्रक, ट्रक र बस     रू. १,५००।–  

(आ) कार, जिप, भ्यान, माइक्रो बस     रू. १,२००।–

 (इ) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो         रू. ८५०।–  

(ई) टे«क्टर र पावर टिलर             रू. ७५०।–