अनलाईन भ्याट रिटर्न फारम कसरी भर्ने

यो फारम यदि पहिलो पटक भर्दै हुनुहुन्छ भने तपाईँलाई समस्या पर्न सक्छ। यो लेखमा हामीले नयाँ प्रयोगकर्ताहरूलाई सहज होस् भन्ने हिसाबले फारम भर्ने सम्पूर्ण प्रक्रियाहरू उल्लेख गरेका छौँ।

  • कर कार्यालय (आन्तरिक राजस्व कार्यालय/ करदाता सेवा कार्यालय) मा गएर आफ्नो कम्पनीको Username र Password का लागि निवेदन बुझाउनुहोस्। Username र Password तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ नभए बढीमा एक दिन लाग्छ। अब अनलाइन फारम भर्न सकिन्छ।
  • आन्तरिक राजस्व कार्यालयको वेबसाइट www.ird.gov.np मा जानुहोस्
  • वेबसाइट खोलेर त्यहाँ रहेको Taxpayer portal अप्सनमा जानुहोस्  
  • बायाँ पट्टि Vat लेखिएको अप्सन देख्न सकिन्छ। त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ विभिन्न अप्सन देखिनेछन्। त्यस मध्ये Vat Returns entry मा क्लिक गर्नुहोस्।
  • प्रयोगकर्ताको नाम र पासवर्ड भर्नका लागि बक्सहरू देख्न सक्नुहुन्छ। त्यहाँ Username र Password राख्नुहोस्
  • पुन पासवर्ड, स्थानीय लेखा नम्बर (vat), इमेल ठेगाना र  सम्पर्क नम्बर पनि खाली ठाउँमा भर्नुहोस्
  • सबै विवरण भरसकेपछि रेजिस्टर लेखिएको ठाउँमा थिच्नुहोस्
  • तपाईँ सफल्तापुर्वक दर्ता हुनुभयो कृपया तपाईँको सब्मिसन न् प्रयोगकर्ताको नाम र पासवर्ड टिपीराख्नुहोस् भनी स्क्रिनमा लेखिएको देख्न सकिन्छ। त्यसको ठिक तल पट्टि Proceed लेखिएको देख्नुहुन्छ, त्यहाँ थिच्नुहोस् 

अब तपाईँको स्क्रिनमा मूल्य अभिवृद्धि कर विवरण फारम आउनेछ। यसमा सोधिएका खाली ठाउँहरू भर्दै जानुहोस्।

  • कुन आर्थिक वर्षको कर बुझाउँदै हुनुहुन्छ सो आर्थिक वर्षलाई “वर्ष” लेखिएको खाली ठाउँमा उल्लेख गर्नुहोस्।
  • कर मासिक, चौमासिक वा दुई मासिक (फारम दर्ता गरिएको समयमा उल्लेख भएको) अप्सन छान्नुहोस्।
  • कर लाग्ने बिक्री लेखिएको खाली ठाउँमा तपाईँको बिक्री खातामा भएको कर योग्य बिक्रीको मूल्यमा रहेको कुल रकम राख्नुहोस्
  • बिक्रीमा तिरेको कर डेबिट लेखिएको अप्सनमा तपाईँको बिक्री खातामा भएको कर योग्य बिक्रीको कर रकम राख्नुहोस्
  • निकासी र छुट बिक्री भएमा पनि भर्ने ठाउँ दिइएको हुनेछ।
  • कर लाग्ने खरिद भर्न राखिएको खाली ठाउँमा तपाईँको खरिद खातामा भएको कर योग्य खरिदको मूल्यमा रहेको कुल रकम राख्नुहोस्
  • त्यस्तै कर लाग्ने खरिद भर्न राखिएको खाली ठाउँमा तपाईँको खरिद खातामा भएको कर योग्य खरिदमा रहेको करको कुल रकम राख्नुहोस्
  • कर लाग्ने पैठारी, छुट खरिद, छुट पैठारी वा अन्य थपघट रकम भए दिइएका अप्सनहरूमा उल्लेख गर्नुहोस्  
  • गएको महिनाको मिलान गर्न बाँकी क्रेडिट रकम भर्नका लागि दिइएको बक्समा रकम भर्नुहोस्  
  • माथि विवरण भरिसक्दा कर तिर्नुपर्ने देखिएमा जम्मा भुक्तानी रु. लेखिएको अप्सनमा भर्नुहोस्  र सो तिर्न प्रयोग भएको भौचर नम्बर दिइएको बक्समा लेख्नुहोस्
  • तपाईँले खरिद गर्नुभएको कुल बिजक सङ्ख्या ‘कुल खरिद बिजक सङ्ख्या’ मा र बिक्री गर्नुभएको कुल बिजक सङ्ख्या ‘बिक्री बिजक जम्मा सङ्ख्या’ मा उल्लेख गर्नुहोस्  
  • फारम भर्दै जाँदा अब तपाईँले ठुलो सेतो खाली ठाउँ देख्नुहुन्छ। तपाईँले वा तपाईँको संस्थाले १ पटकमा १ लाख भन्दा बढीको कारोबार गरेको छ भने दाहिने पट्टिको अप्सन Download sample excel file here लेखिएको बटनमा क्लिक गर्नुहोस्। डाउनलोड भएको excel file अनुसारका विवरणहरू भर्नुहोस् र अपलोड गर्नुहोस्
  • अन्त्यमा तपाईँले “म, यस कर विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको ब्यहोरा प्रमाणित गर्दछु” लेखिएको देख्न सक्नुहुन्छ त्यसको बायाँपट्टि चिन्ह लगाउने ठाउँ देख्न सकिन्छ। त्यहाँ चिन्ह लगाउनुस्।  
  • अब यी विवरणहरूलाई सेभ लेखिएको अप्सनमा गएर सेभ गर्नुहोस् र नजिकै रहेको प्रिन्ट अप्सनमा थिचेर प्रिन्ट गर्नुहोस्। सब्मिट लेखिएको अप्सन पनि सँगै देख्न सक्नुहुनेछ, त्यहाँ क्लिक गरेर तपाईँ आफैले भेरिफाइ गर्न सक्नुहुन्छ र सो कार्य गर्नका लागि कार्यालयबाट प्राप्त गर्नुभएको Useername र Password प्रयोग गर्नुपर्नेछ।